काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ओडीआई वरियतामा नेपाल १ स्थान माथि उक्लिएको छ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो। केही दिन अगाडि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लिएको नेपालले यसपटक नामिबियालाई पछि पारेको छ।
एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड १२औं स्थानमा छ। यस्तै, नेदरल्याण्ड्स १४औं र ओमान १५औं स्थानमा छन्। ओडीआइ वरीयताको शीर्ष स्थानमा भारत छ।
विश्वकप लिग २ खेलिरहेको नेपालले पछिल्लोपटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ। पछिल्लो समय ११ खेल खेल्दा १० खेलमा जित निकालेको छ।
आगामी ४ वर्षका लागि ओडीआइ मान्यता सुरक्षित गरेको नेपाल सोझै विश्वकप छनोटमा पुग्न लिग २ अन्तर्गत अन्तिम शृङ्खलाको अन्तिम खेलको तयारीमा छ। लिग २ अन्तर्गत नेपालले बिहीबार यूएईसँग अन्तिम खेल खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।