काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नतिर मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार राति देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।