काठमाडौं– गणित विषयलाई सहज र सजिलो बनाउनका लागि नेपालमा पहिलोपटक गणित पार्कको सुरूवात गरिएको छ।
विद्यार्थीहरूलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न र उनीहरूलाई गणितप्रति रुचि जगाउनका लागि नेपालमा पहिलोपटक ‘म्याथ पार्क’ को सुरुवात गरिएको बताइएकाे छ। गणितलाई व्यवहारिक जीवनमा प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो।
काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर मंगलबार उक्त पार्कको उद्घाटन गरिएको हो। उक्त पार्क विज्ञान प्रविधि सचिव प्रमीलादेवी बज्राचार्यले उद्घाटन गरेकी हुन्।
म्याथ पार्कमा विद्यार्थीहरुले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन्। गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ।
साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफैं म्याथ पार्कमा गणितका नयाँ कुराहरु सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन्। उनले विज्ञान र गणितप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको बताउँदै ‘म्याथ पार्क’ले विद्यार्थीलाई सहज हुने धारणा राखिन्।
मन्त्रालयले प्रणाली शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै उनले पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकहरुलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत जानकारी दिइन्।
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको जिकिर गरिन्। गणितका बारेमा किताब र कक्षा कोठामा मात्रै पढाइनेभन्दा पनि यसरी विद्यार्थीले प्रयोग नै गरेर पढ्न पाउँदा यसले शिक्षामा गुणस्तर कायम गर्न सहयोग पुन्ने उनको भनाइ थियो।
अंग्रेजी जानी नजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए। उनले भने, ‘अंग्रेजी नजाने पनि बोल्ने प्रचलन छ। तर, गणित आउँदैन भन्ने र यसलाई महत्त्व नदिने गरेका पाइन्छ।’
पन्तले गणित बिना कुनै पनि अध्ययन पूरा नहुने र विज्ञान, फिजिक्स, कम्प्युटर साइन्सलगायतलाई अनिवार्य आवश्यक रहेकोले गणितको महत्त्व रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।