काठमाडौं– सरकारले कर्मचारीहरुको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ। राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव तथा सहसचिवसरह (राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी)का कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।
किताबखानाले सोमबार एक सूचना जारी गर्दै ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो। सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो। यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा पाण्डेयले बताए।
‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको छ। सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उहाँहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ, अब सबै कर्मचारीले आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्नुपर्छ,’ राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डेले भने।
विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत् वा स्वयं कागजात लिइ ललितपुरको पुल्चोकस्थित कार्यालयमा गइ विवरण अद्यावधिक गर्न सकिने राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ। हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झण्डै ७५३ कर्मचारी कार्यरत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।