काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दै छ।
अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलअन्तर्गत नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले विश्वकप लिग २ मा २ खेल खेल्न बाँकी छ। लिग २ को शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा सोझै स्थान बनाउन नेपालले बाँकी २ वटै खेलमा जित निकाल्नुपर्ने हुन्छ।
पीएनजीविरुद्धका पछिल्ला ५ खेलमध्ये ३ खेलमा जित निकालेको नेपाल सोमबार पनि आफ्नो विजयी यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। नेपालमा जारी अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो।
आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)लाई हराउँदै नेपालले ४ वर्षका लागि एकदीवसीय मान्यता जोगाएको छ। आइतबारको जितसँगै नेपाल ३४ खेलबाट ३६ अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।