काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन्।
भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतापछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन्।
उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए। टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएकाले सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताए।
एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने बताए। यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिलेसम्मको यात्रा सुखद् भएकोमा खुशी व्यक्त गरे।
आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको उनले बताए। उनले खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आपूm सफल भएकोमा खुशीसमेत व्यक्त गरे।
यता खेलमा सर्वाधिक ५ विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुशी लागेको प्रतिक्रिया दिए। उनले आपूm टिम बाहिर रहे पनि टोलीको जितमा निकै खुशी भएको र टिममा पर्नैपर्ने आकांक्षा आफूमा नभएको बताए।
एक दिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने उनको भनाए छ। यस्तै गुल्सन झाले पनि प्रशिक्षकले दिलाएको भूमिकामा न्याय दिन सकेको भन्दै खुशी व्यक्त गरे।
लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ। यसै अन्तर्गत नेपालले सोमबार अर्को भ्रमणकारी टोली पपुवान्युगिनी (पिएनजी)सँग खेल्नेछ। नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।