काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले कमजोर सुरुआत गरेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले १० ओभर नखेल्दै तीन विकेट गुमाएको छ।
आरिफ शेख ५ बल खेलेर खाता नखोल्दै यूएईका बलर आर्यन लार्काबाट बोल्ड भए भने कुशल भुर्तेल ८ रन बनाएर अफजाल खानबाट एलबीडब्लु धरापमा परे। यसैगरी कुशल मल्ल जम्मा ९ रन बनाएर क्याचआउट भए।
अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन्। लगातार कमजोर प्रदर्शन गरिरहेका ब्याटर ज्ञानेन्द्र मल्ललाई बेञ्चमा राखिएको छ। यसैगरी करण केसी पनि आइतबारको खेलमा प्रतिस्थापनमा परेका छन्।
टिममा ललित राजवंशी र गुल्सन झाले स्थान बनाएका छन्। यूएईसँगको आज आइतबारको खेल महत्त्वपूर्ण मानिएको छ। आजको खेलमा यूएई पराजित भएमा नेपाल तालिकाको चौथो स्थानमा उक्लिनेछ र ओडीआई मान्यता जोगिनेछ। यही जितले टप थ्रीमा पुग्दै विश्वकप जित्ने सम्भावना समेत कायम राख्नेछ।
सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेको यूएई छैटौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।