काठमाडौं- उपराष्ट्रपति निर्वाचनका लागि आज आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ।
त्यसअघि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ।
शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यक्रम थियो। जसमा एमालेका अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ।
अन्य तीन उम्मेदवारका विरुद्धमा उजुरी नपरेपनि रामसहायप्रसाद यादवका विषयमा भने एमाले र जनमत पार्टीका तर्फबाट दाबी विरोध गरेको छ। पुरुष खसआर्य समुदायबाट राष्ट्रपति निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राखेर रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो। जसमाथि आयोगले आइतबार १२ बजेभित्र निर्णय गरिसक्ने छ।
उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। यसअघि राष्ट्रपतिमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।