काठमाडौं– विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ/संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घ/संस्थाले आज संयुक्त विज्ञप्तिमार्फत् सत्यतथ्य छानबिन गरी घटनामा सङ्लग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका हुन्।
गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औं दिनको पुण्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘कृया भोजमा’ दलित र गैरदलितको लागि अलग–अलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घ/सङ्गठनको भनाइ छ।
‘सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ/सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन्। ती सङ्घ/संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।