काठमाडौं– सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष सम्भुप्रसाद मैनालीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। शु्क्रबार अख्तियार अनुसन्धान आयोगले मैनालीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीमाथि राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा भएको न्यूनतम मूल्यभन्दा कम राखेर रजिस्ट्रेशन पास गराई राजश्व हिनामिना गरेको आरोप छ। उनीविरुद्ध अख्तियारले ९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हफ।
वडाध्यक्ष मैनालीले साविक हरिवन गाउँ विकास समिति वडा नम्बर २ (ग) हाल हरिवन नगरपालिका वडा नम्बर १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको अख्तियारको दाबी छ ।
सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सो वडाको नयाँरोड बजार अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नम्बर ३५१ को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी राजस्व हानिनोक्सानी गर्ने बदनियतका साथ गलत घरबाटो प्रमाणित गरी सोको आधारमा ९ लाख ३६ हजार राजस्व रकम (सरकारी रकम) हानिनोक्सानी हुन गएको अख्तियारले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।