काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरे।
शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
उनले नेपालको संविधानले फरक लिंग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए।
उनले संविधानको व्यवस्थाविपरीत आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पारे। उनले आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए।
यस्तै उपसभापति खड्काले आज राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा बैठक बसेको बताए। उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताए।
उनले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पारे। उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समय अगावै सर्वसम्मतिले हुने उनको भनाइ छ। चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।