काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। पेसी ट नम्बरमा पालो रहेको छ। बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लाागि सरेको थियो।
दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए।
तत्कालीन समयमा अदालत प्रशासनले दरपिठ गरेको थियो। दरपिठ विरुद्ध दिइएको निवेदनमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले दर्ता गर्न आदेश गरेको थियो। उक्त आदेशपछि मंगलबार रिट दर्ता भएको थियो।
शुक्रबार सुनुवाइ हुँदै आदेश जारी गरेमा मुद्दा अघि बढ्नेछ। इजलासले रिट खारेज गरेमा विवाद समाप्त हुनेछ। सर्वोच्चमा मुद्दा अघि बढेपछि सरकारले हतारहतार बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण आयोगको संशोधन विधेयक दर्ता गराएको छ। बिहीबार नै उक्त विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।