काठमाडौं– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। तर उनी आठ दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्दै बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी राष्ट्रपति भएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो।
संविधानको धारा ६८ को उपधारा ६ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः खारेज हुन्छ,’ भनि उल्लेख गरिएको छ। पौडेलको सांसद आजै पद स्वतः खारेज भएकाले तनहुँ १ मा उपनिर्वाचन हुने भएको हो।
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभामा रिक्त हुने सबै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने निर्वाचन क्षेत्र लगायत सबै स्थानमा एकैपटक उपनिर्वाचनका गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।