काठमाडौं– उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सो पार्टीको बिहीबार बसेको कार्यकारणी बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता मनिस सुमनले बताएका छन्।
८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपाबाट उम्मेदवार अघि बढाउने निर्णय गरेको थियो। उपपराष्ट्रपतिको मनोनयन शुक्रबार हुने कार्यक्रम रहेको छ।
त्यस्तै, निर्वाचन भने चैत ३ गते हुनेछ। यादव बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् उनी जसपा संसदीय दलका नेतासमेत हुन्।
उपराष्ट्रपतिमा रामसहाय निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान छ। उनले राजीनामा दिएपछि रिक्त हुने बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेर प्रतिनिधि सभामा आउने बाटो खुलेको छ।
अध्यक्ष यादव गएको निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।