काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत छेन संङ्ले शिष्टाचार भेट गरेका छन्। मेयर बालेनलाई भेट्न राजदूत संघ बालेनको कार्यकक्षमा पुगेका थिए।
उक्त भेटमा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै मेयर बालेनले काठमाडौंका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताएका छन्।
‘काठमाडौंसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ। त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ। यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौं,’ मेयरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो, ‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन्। भेषभुषा र खानपान एउटै हुन सक्छन्। यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ।’
जवाफमा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताएका थिए। यसका लागि चीनले आपसी सहयोग बढाउने प्रतिबद्धता जनाएका थिए।
‘काठमाडौंको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ। सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ। यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन्।’ राजदूत सङ्लाई उदृत गर्दै भेटमा सहभागी एक अधिकारीले बताए।
यस्तै, उक्त छलफलमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लागि चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषयमा पनि छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।