काठमाडौं- राष्ट्रपतिका लागि भइरहेको निर्वाचनको मतदान सकिएको छ। तीन बजेका लागि निर्धारित समयभित्रै मतदान प्रक्रिया सकिएको हो।
मतदान सकिएसँगै निर्वाचन आयोगले चार बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ। राष्ट्रपति उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिहरूसँग छलफल गरेर निर्वाचन आयोगको मतगणनासम्बन्धी निर्णय गरेको हो।
उक्त बैठकले स्वस्तिक छाप नभएको मत बदर हुने जनाएको छ। सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने र नभएमा बदर हुने निर्णय भएको छ।
संघीय संसद् र प्रदेश सभाको अलग–अलग मतगणना हुनेछ। मतगणना स्थलमा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहनेछन्।
मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने र मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ। आयोगले ७ बजेभित्र अन्तिम नतिजा प्रकाशित गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।