काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुन:स्थापित गर्ने गरी काम गर्नुपर्नेछ। यसका लागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ। निजी क्षेत्रका माग पूरा गर्नका लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ।’
उनले सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैरजिम्मेवार ढंगले विषयवस्तु नउठाउन व्यवसायीहरूलाई आग्रह गरे। ‘म निजी क्षेत्रका साथीहरूलाई पनि भन्न चाहन्छु। तपाईंहरू वास्तविक र व्यवहारिक बन्नुस्। त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ। सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेवार कुराका पछाडी नलागौं’, ढकालले भने।
कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उनले वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आएको उल्लेख गरे।
त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानीयोग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उनको भनाइ छ। ढकालले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।