काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्।
बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए।
उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए।
उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको टिप्पणी गरे।
‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो। कांग्रेस–एमाले एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौं’, ओलीले भने।
अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण रुपमा काम गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।