काठमाडौं– बिम्स्टेकका वरिष्ठ अधिकारीको २३औं बैठक आज थाइल्यान्डको बैंककमा सम्पन्न भएको छ। भर्चुअल बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गतवर्ष श्रीलंकाको कोलम्बोमा सम्पन्न बिम्स्टेकको पाँचौं शिखर सम्मेलनले सदस्य राष्ट्रको नेतृत्वमा सातवटा क्षेत्रमा सहकार्यका क्षेत्रको पुनःगठन गरेको थियो।
नेपाल जनसम्पर्क क्षेत्र र संस्कृति, पर्यटन र जनताबाट जनताको सम्पर्क उपक्षेत्रमा अग्रणी देश हो। परराष्ट्र सचिव पौड्यालले नेपालको नेतृत्वमा यस क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए।
सोही अवसरमा परराष्ट्र सचिवले नेपालले संस्कृति र पर्यटन उपक्षेत्रका लागि तयार पारेको कार्ययोजनामाथि प्रकाश पार्दै बिम्स्टेक पर्यटन कोष र पर्यटन सूचना केन्द्रलाई चाँडो सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।
उनले गरिबी निवारणलाई जनसम्पर्क क्षेत्रअन्तर्गत उपक्षेत्रका रूपमा समावेश गर्न नेपालको सहमतिसमेत जनाएको विज्ञप्तिमा उल्लेख छ।
बैठकले बिम्स्टेकअन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा भएको प्रगतिको प्रतिवेदनमाथि पनि विचार गरेको थियो। बैठकले भोलि ९ मार्चमा हुने १९औं बिम्स्टेक मन्त्रीस्तरीय बैठकको अजेण्डा र प्रस्तावित संयुक्त वक्तव्यको पाठलाई पनि अन्तिम रूप दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।