काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन्।
एक सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका छन्।
मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहँदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत् आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए।
‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै उनले विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।