काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्। बुधबार पारिवारिक निजी बन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उक्त अभिव्यक्ति दिएका हुन्।
दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताउँदै उनले सरकार अफ्ठ्यारोमा पर्दा संसद् विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने दावी गरे।
तिमिल्सिनाले नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले बिरोधाभाष भइरहेको बताए। सरकार सञ्चालन गर्नेहरुले ढंग पुर्याएर संसद चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाउँदै उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद् विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अनदेखा गर्ने गरेको बताए।
अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको आरोप लगाए। उनले राजनीतिक दलहरुले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी गरे।
तिमिल्सिनाले भने, ‘नेपालमा हामी राजनीति गर्नेहरुले पनि बारम्बार ऐन, कानुन, संविधान बनाउँदा पनि एउटा अतिमा जान्छौँ। हाम्रो चलाउने ढंग नहुने अनि दोष सिस्टमलाई दिने। जनप्रतिनिधिमुलक संस्था ठिकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद् विघटन गर्ने दुनियाँको पनि अभ्यास हो।’
अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभई झनै अल्झाएर राख्ने परिपाटी हावी हुँदै गएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको भन्दै उनले देशको परिवर्तन भाषणामा मात्रै सीमित भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।