काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट संक्रमणकालीन न्यायको सिद्धान्त विपरीत भएको बताएको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियु क्रान्तिकारीले सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण लगायतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपर अनुसन्धान र अभियोजनको माग गर्दै रिट निवेदन दायर गरेर संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुनको नियमित प्रक्रियाबाट सुनुवाइ गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो कदम पूर्णरुपमा बृहत शान्ति सम्झौताको मर्म एवं संक्रमणकालीन न्यायको सिद्धान्तविरुद्धमा छ। हामी यस कार्यको घोर भत्सर्ना गर्दछौं।’ अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमा यस्तो निर्णयले संविधानको मर्म एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अपमान गरेको बताइएको छ।
उनले तत्कालीन विद्रोही पक्ष र संसदवादी ७ राजनीतिक दलबीच भएको १२ बुँदे समझदारी र त्यसको जगमा भएको विस्तृत शान्ति सम्झौता, विद्रोह र विद्रोहले उठाएका अजेन्डा व्यवस्थापनका निम्ति राजनीतिक दलहरुको साझा स्वामित्व भए पनि अहिले उक्त तथ्यलाई बेवास्ता गर्दै माओवादीलाई मात्र अपजसको भारी बोकाउने षड्यन्त्र भइरहेको बताएकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।