काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूको लागि गर्वको विषय भएको दाबी गरे।
११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए।
‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेतृ, तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले ७ वर्षसम्म राष्ट्र प्रमुखको जिम्मेवारी बहन गर्ने अवसर पाउनुभयो’, ओलीले भने, ‘त्यो जिम्मेवारी एक पटक मात्रै होइन। जिद्धी गरेर यहाँ रहनै पर्छ भनेर पनि होइन। उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ।’
अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।