काठमाडौं– काठमाडौंसहित देशका विभिन्न भू–भागमा बुधबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ। प्रि–मनसुन, पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारण उपत्यकासहित देशका विभिन्न भू–भागमा वर्षा भइरहेको मौसमविद् सञ्जिव अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
मौसमविद् अधिकारीले भने,‘मापन भए अनुसार अहिलेसम्म सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको देखिन्छ। गण्डकी प्रदेशका पहाडी र उच्च पहाडी ठाउँहरुमा लुम्ले,माछापुच्छ्रेमा ठूलो वर्षा भएको छ। त्यहाँ १० मिलिलिटरसम्म वर्षा मापन भएको छ।’
बागमती प्रदेशका सिन्धुली, दोलखा, काभ्रेमा अलि बढी पानी परेको भए पनि काठमाडौं उपत्यकामा फाट्टफुट्ट मात्रै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बुधबार दिनभरी मौसम बदली रहने र फाट्टफुट्ट वर्षा भइरहने मौसमविद्ले बताएका छन्। मार्च, अप्रिल र मे महिनामा प्रि–मनसुन सक्रिय हुने मौसमविद् अधिकारीलरीले जनाएका छन्।
कस्तो छ आगामी तीन दिनको मौसमी अवस्था?
बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी दिउँसोको समयमा देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाएको छ।
बिहीबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेका र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।