काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा राष्ट्रपति निर्वाचनमा मत दिने वा नदिनेबारे निर्णय हुने श्रेष्ठले बताए।
राष्ट्रपति निर्वाचनमा के गर्ने भन्नेबारे अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिनेछन्।
राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन्। राप्रपा राष्ट्रपतिका कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बसेको छैन फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएको थियो।
बिहीबार राष्ट्रपतिका लागि मतदान हुँदैछ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित आठ दलको तर्फबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।
यी दुवै उम्मेदवारले राप्रपा कार्यालयमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूले यी दुवै उम्मेदवारलाई पार्टी बैठकले निर्णय लिएपछि सोही अनुसार गर्ने जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।