काठमाडौं– फागुन २५ गते हुने नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।
निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उप–रजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिृका छन्।
राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।