धादिङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताएकी छन्।
मंगलबार धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरूको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उनले चालु संसद् अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन्।
अघिल्लो संसद्मा विधेयक पेस भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरे।
शान्ति प्रक्रिया टुंगोमा नपुग्दा विभिन्न चलखेल सुरु भएको उल्लेख गर्दै मन्त्री शर्माले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रुपमा भन्दा शान्ति सम्झौता र संक्रमणकालीन न्यायभित्र रहेर टुङ्ग्यानुपर्ने बताइन्।
एक अर्को प्रसंगमा मन्त्री शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्रराष्ट्रहरूसितको सन्तुलित परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको बताइन्। कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितविपरीत अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।