काठमाडौं– संक्रमणकालीन न्याय तथा सोसँग सम्बन्धित मुद्दाहरुबारे साझा धारणा बनाउन माओवादी धारका पार्टीहरु छलफलमा जुटेका छन्।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी धारका विभिन्न पार्टीहरुको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा सुरु हुने जनाइएको छ।
प्रधानमन्त्री तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डविरुद्ध केही दिन अगाडि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। उक्त निवेदनमा प्रचण्डलाई पक्राउ गरी फौजदारी मुद्दामा अनुसन्धान हुनुपर्ने मागदाबी गरिएको छ।
प्रचण्डले एउटा सार्वजनिक कार्यक्रममा नै युद्धकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको मृत्युको जिम्मा आफूले लिने बताएको र सोही आधारमा उनीमाथि अनुसन्धान हुनुपर्ने जिकिर रिटमा गरिएको छ।
सर्वोच्च अदालत प्रशासनले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको रिट पछि सर्वोच्च अदालतको इजलासले दर्ता गर्नू भनि आदेश दिएको थियो। जसअनुसार रिट दायर भइसकेको छ।
माओवादी केन्द्रले एक विज्ञप्ति नै जारी गरेर रिट दर्ता गर्नू भन्ने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ। द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित रिटलाई दर्ता गर्ने अदालतको आदेश न्यायिक पुनरावलोकनको सिद्धान्त विपरीत भएको पनि माओवादीले उल्लेख गरेको छ।
द्वन्द्वकालीन मुद्दा, पछिल्लो समय प्रचण्डविरुद्ध दायर भएको रिट र रिट दर्ता गर्नू भन्ने सर्वोच्च अदालतको आदेशका विषयमा छलफल गरी साझा धारणा बनाउन माओवादी धारका पार्टीहरुको बैठक बोलाइएको हो।
बैठकमा माओवादी केन्द्र, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, माओवादी समाजवादी पार्टी लगायतका नेताहरु सहभागी हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।