काठमाडौं– सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व)को शुभकामना दिएका छन्। उनले होली पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुर्ण राख्न सघाउने विश्वास व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वको रुपमा मनाइने गरिन्छ। फागु पर्व परम्परागतरूपमा विभिन्न रङहरु खेली मनाउने प्राचीन परम्परा छ। यसपर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ।’
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको घिमिरेको भनाइ छ। उनको शुभकामना सन्देशमा भनिएको छ, ‘हिमाल, पहाड र तराईमा फरक फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघूलन गर्न समेत मद्धत गरेको छ। जुनसुकै क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको छ।’
विविधतायुक्त समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो भएको भन्दै परम्परागत चाडवाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि नागरिककै भएको उनले बताएका छन्। तर, चाडवाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नैपर्ने सभामुख घिमिरेले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।