काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार शुभकामना दिँदै उनले नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायकाबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले एकताबद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन्।
उनले भनेका छन्,‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्ने उनको भनाइ छ। ‘देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्दछन्। विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्दछन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।