काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोज्न लागिएको बताएका छन्। आइतबार ‘शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले तीन वर्ष अगाडि बोलिएको कुरामा निहुँ खोजिएको बताए।
‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन? तीन वर्ष अगाडि बोलेको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने, मुद्दा लगा भनेर फेरि लगाउन मिल्छ भन्ने निर्णय गर्ने भनेको निहुँ खोजेको होइन? जिस्किएको होइन?’, उनको प्रश्न थियो।
भट्टराईले यस्ता कुरामा पूर्वमाओवादीहरुबीच सहकार्य गर्न सकिने बताए। ‘हामी सबै मिलेर किन आवाज निकाल्न सक्दैनौं? किन सडकमा निस्किन सक्दैनौं?’, उनले सोधे।
सर्वोच्च अदालतले गत शुक्रबार द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न आदेश दिएको थियो। गत कात्तिक १४ मा दिएको निवेदनलाई सर्वोच्च प्रशासनले कात्तिक २४ गते दरपीठ गरिदिएको थियो।
त्यसपछि सर्वोच्च अदालतको इजलासमै दिइएको निवदेनमाथि सुनुवाइ गर्दे न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो।
यो आदेश तत्कालीन नेकपाका अध्यक्षका रुपमा २०७६ माघ १ गते टुडिखेलमा गरेको गरेको भाषणसँग जोडिएको छ। थारू राष्ट्रिय माघी (माघ ) महोत्सवको अवसरमा सम्बोधन गर्दै उनले भनेका थिए- ‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ। यो सत्य होइन। सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरुले, हिजोको राज्यले मारेको १२ हजारकोचाहिँ कुरा नहुने तर राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने न्याय हुँदैन।’
अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।