भिटामिन 'डी'को अर्को नाम सनसाइन भिटामिन हो। यसको मुख्य स्रोत सूर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दूध र दूधजन्य खानेकुराबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ। तर, मुख्य स्रोत चाहिं सूर्यको किरण नै हो। जब सूर्यको किरण हाम्रो छालामा पर्छ, त्यसपछि कोलेस्ट्रोरलाई कन्भर्ट गर्दै कलेजोमा भिटामिन डी बन्छ।
धेरैजसो मानिसहरुमा आजकल मात्रै सबैले भिटामिन डीको कुरा गर्न थालेको पहिले त्यस्तो केही समस्या हुँदैन थियो भन्ने खाले भ्रममा छन्। पहिले पहिलेका मानिसहरु घाममा काम गर्थे, बाहिर काम गर्थे। त्यसले गर्दा उनीहरुलाई भिटामिन डी पुगिरहन्थ्यो र उनीहरुलाई त्यो लक्षण देखिएन।
अहिलेको परिवेशमा हेर्ने हो भने हामी बिहान ७ बजे अफिस छिरेर बेलुका ५/६ नबजी अफिसबाट निक्लिदैनौं। हामीले सूर्यको मुख नै देखेका हुँदैनौं भनेपछि यो भिटामिनको कमि हुनु स्वाभाविक नै हो।
डा केयुर गौतमबोन हेल्थलाई मात्रै नभई हाम्रो शरीरको हरेक सेललाई भिटामिन डी महत्त्वपूर्ण हुन्छ। हाम्रो शरीरको हरेक सेलमा भिटामिन डीको रिसेप्टरहरु हुन्छ। त्यसकारण भिटामिन डीले हरेक सेलको कामहरुलाई केही न केही असर गर्छ। त्यसैले भिटामिन डीको लेभलहरु हेरीरहनु पर्छ र कमि रहेछ भने पुरकहरु लिनुपर्छ।
कसलाई आवश्यक हुन्छ यो जाँच?
- ६०/७० वर्ष उमेर पुगेकाहरु जो निष्क्रिय जीवनशैली जिउँछन्।
- बिहान घाम लाग्नु अगाडि अफिस जाने र बेलुका घाम अस्ताएपछि घर फर्किनेहरु (बिशेष गरि बैंकका कर्मचारीहरु)।
- लामो समयसम्म अध्यारोमा काम गर्नुपर्नेहरुलाई।
- गर्भवतीहरुलाई
- जटिल किसिमका रोग भएकाहरु (क्यान्सर, मिर्गौला, कलेजोका बिरामीहरु)
यस्ता मानिसहरुले सकेसम्म ६/६ महिनामा र नसके वर्षमा एकपटक भए पनि भिटामिन डीको जाँच गराउन आवश्यक हुन्छ।
लक्षणहरु
यसको कमि भएमा हड्डी र मांसपेशीहरुमा समस्या देखिन्छ। त्यो लगायत सुताइमा समस्या आउन सक्छ। थकाई महसुस हुने, मुड अफ भइरहे जस्तो, शरीरमा शक्ति नभए जस्तो, ढाड दुख्ने समस्या, शरीरमा बेलामा संक्रमण हुने, खान मन नलाग्ने, जिउ घट्दै जाने, कमजोर हुने, शरीर कटकट खाइरहेजस्तो लाग्ने समस्या लिएर बिरामीहरु आइपुग्छन्।
कसैकसैले भिटामिन डी जाँच नगरी पुरक खाइदिए हुन्छ भन्ने सोच्नु हुन्छ। तर, त्यसको पनि रेफरेन्स रेन्ज हुन्छ। ३० भन्दा तल आयो भने नराम्रो, १०० भन्दा बढी पनि जानु हुँदैन भन्ने छ। ३० भन्दा कम आयो भने माथि भनेजस्तै लक्षणहरु देखिन्छ। १०० भन्दा बढी भयो भने भिटामिन डी टक्सीसीटी हुन सक्छ। त्यो कारणले गर्दा मिर्गौलामा पत्थरी हुन सक्ने सम्भावना हुन्छ। त्यसकारणले गर्दा कसैले भिटामिन डीको पुरक सेवन गरिरहनु भएको छ भने, त्यसको डोज पुगेको छ कि छैन भनेर पनि जाँच गर्नु आवश्यक हुन्छ। त्यस्तै त्यसको लेभल बढी नहोस भनेर पनि जाँच जरुरि हुन्छ।
यो जाँच गर्न जाँदा खाली पेट बस्नु पर्दैन। कुनै पनि बेला गएर रगत छाड्न सकिन्छ। सक्दो त घाममा छाला देखाएर बस्दा सित्तैमा भिटामिन डी प्राप्त गर्न सकिन्छ। तर, घाम ताप्ने समय छैन र जोखिममा हुनुहुन्छ भने भिटामिन डीको जाँच गरेर आवश्यक परेमा पुरकहरु लिन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।