काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूमाझ लोकप्रिय बन्नका लागि सस्ता र मीठा कुरा नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरूमाझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता र मीठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन पनि आग्रह गरे।
'हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि व्यवसायीहरूमाझ गैरजिम्मेवार भई जथाभावी बोल्नु हुँदैन। पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिनँ भन्ने कुरा गर्नुहुँदैन। बैंकमा भएको निक्षेप पनि जनताको हो। हामी व्यवसायीहरूले यस्तो गैरजिम्मेवार कुरा बोल्नु हुँदैन,' उनले भने।
कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र होइन विश्व अर्थतन्त्रमा नै समस्या देखिएको उनले स्मरण गरे। त्यसैको प्रभाव स्वरुप नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव सुरु भएको र बैंकको कर्जाको ब्याजदर पनि बढेको उनले सुनाए।
'तर, अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरू सकारात्मक हुन थालेको संकेत देखिएका छन्। त्यसैले म व्यवसायी साथीहरूलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु,' ढकालले थपे।
उनले बैंकको ब्याजदरको विषयमा महासंघको तर्फबाट आफूहरूले राज्यका विभिन्न निकायमा पटकपटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषय सम्बोधन गरेको र वातावरण सहज बन्दै गएको उल्लेख गरे।
एउटा बैंकको सञ्चालक भएको नाताले आफू उपस्थित हुने धेरै कार्यक्रमहरूमा पटक-पटक बैंकको ब्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए।
'म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन। ब्याजदर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरूको प्रभाव रहन्छ। त्यसै पनि निक्षेपको व्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको छ,' ढकालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।