काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चक्कु देखाएर फूल हो भनेको बताएका छन्। सहिद, घाइते तथा वेपत्ता परिवारको सम्मान कार्यक्रममा आइतबार बाल्दै अध्यक्ष ओलीले उक्त अनुभव सार्वजनिक गरेका हुन्।
राष्ट्रपति पदको उम्मेदवारका विषयमा सत्ता साझेदार गरेका एमाले र माओवादी केन्द्रबीच असमझदारी बढेर उक्त गठबन्धन विघटनको संघारमा पुगेपछि ओलीको यस्तो टिप्पणी आएको हो।
‘पुष्पकमल दाहालले अस्तिका (शुक्रबार) दिनसम्म मलाई छक्याइरहनुभयो। उहाँले हातमा चक्कु लिएर बस्नु भएको थियो, मलाई भन्नुभयो- फूल लिएर बसेको छु। मैले फूल लिएर बसेको छु, चक्कु जस्तो देख्नुभयो होला यो भ्रम हो,’ ओलीले भने, ‘यो चक्कु हैन, फूल हो भन्नु भयो। म पनि तपाईंले भन्नु भएपछि फूल नै हो, के को चक्कु भन्दै बसेँ।’
वर्तमान सरकारमा सँगै रहे पनि यी दुई दलले फरकफरक व्यक्तिलाई राष्ट्रपतिमा अघि बढाएका छन्। एमालेले आफ्नै उपाध्यक्षलाई राष्ट्रपति उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।