काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्। प्रचण्डले बिरालो प्रवृत्ति देखाएको उनको भनाइ छ।
'एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने। कसले कचौरामा कति दूध भात दिन्छ, त्यस अनुसार खुत्रुक्क छिमेकीका घरतिर सर्ने', ओलीले भने।
उनले त्यस प्रवृत्तिले सरकारमा हुने र सरकारको नेतृत्व गर्ने सिलसिला जारी रहेको बताए।
प्रचण्डले हिंसाको अभियान सुरु गरेको भन्दै त्यसको घाउ अझै पनि रहेको बताए। 'त्यसको सञ्चालक शासनको कार्यकारी प्रमुख ठाउँमा छन्। लामो समयदेखि लगातार, कमसेकम संविधान निर्माण, पहिलो त २०६२/६३ को आन्दोलनपछिदेखि नै सरकारमा छँदैछन्। प्रधानमन्त्री भएको तीन वर्ष भयो, सरकारमा भएको कति वर्ष भयो, कति वर्ष', ओलीले भने।
ओलीले २०६२/६३ को आन्दोलनभन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्तपक्ष नभएको बताए। 'जता जोसँग मिलेर भए पनि सत्तामा हुने', प्रचण्डको शैलीप्रति उनको टिप्पणी थियो।
गत वैशाखमा पनि ओलीले प्रचण्ड र माओवादीलाई बिरालोसँग तुलना गर्दै कटाक्ष गरेका थिए। वैशाख २५ गते एक कार्यक्रममा उनले माओवादी केन्द्रलाई सजिलै कांग्रेसबाट एमालेतिर ल्याउन सकिने आसयका साथ भनेका थिए- 'केही भन्नै परेन नि। बिरालो किन्नुपर्दैन भन्ने त तपाईंहरुलाई थाहा छैन। जसले ठूलो कचौरामा दूधभात दिन्छ, उसैकहाँ जान्छ। त्यसको कुनै सवालजवाफ छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।