काठमाडौं– राष्ट्रिय सभाले जनता समाजवादी पार्टी, नेपालबाट प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। शोक प्रस्ताव पारित गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।
बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘अब म प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु। विक्रम संवत् २०१६ साल जन्मनुभएको प्रतिनिधिसभा सदस्य सहनाज रहमानको मिति २०७९ साल फागुन १३ गते ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ। झापा भद्रपुर निवासी स्वर्गीय रहमान जनता समाजवादी पार्टी, नेपालको तर्फबाट २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुहुन्थ्यो। यो बैठक स्वर्गीय रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गम्भिर समवेदना प्रकट गर्दछ।’
झापाको भद्रपुर निवासी सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सांसद थिइन्। उनको हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा फागुन १३ गते (शनिबार) निधन भएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ गते सोमबार अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।