काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्।
शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेका छौं। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौं। यो एकप्रकारले राष्ट्रिय सहमति नै हो।’
उनले नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त नभएको बताएका छन्। साथै लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा अझै टरिनसकेको चेतावनीसमेत दिए।
उनले भने, ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौं।’
उनले आफूले राष्ट्रिय सहमतिको कोशिस गर्दा केपी ओलीसँग अनुरोध गर्दा पनि सम्भव नभएको दाबी गरे। उनले भने, ‘मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाईं र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौं भनेँ, तर सम्भव भएन।’
संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज नहुने निष्कर्षका साथ फेरि आफूहरु एकठाउँमा उभिएको उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।