काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रकोविरुद्ध प्रयोग गर्न खोजिएको आरोप लगाए।
शनिबार कांग्रेसका नेता महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रवादको नारा खेती गर्ने विषय नभएको उनको भनाइ छ।
अलोकतान्त्रिक शक्तिहरुले लोकतन्त्रवादीहरुलाई अराष्ट्रवादी भन्दै आएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। देशको स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई उचो राख्न लोकतन्त्रवादीहरुको योगदान रहेको उनको भनाइ थियो।
उनले भने, ‘नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रकोविरुद्धमा प्रयोग गर्ने कोशिस भएको छ। सबैभन्दा ठूलो विडम्वना २०१७ सालको घटना यो राष्ट्रको विकास र भाग्यमाथि सबैभन्दा ठूलो हमला थियो। त्यसलाई बीपीले राष्ट्रघाती काण्ड भन्नुहुन्थ्यो। त्यो काण्ड घटाउनेले राष्ट्रवादको हतियार प्रयोग गरेर लोकतन्त्रमाथि प्रहार गरेको थियो। लोकतन्त्रमाथि कसरी राष्ट्रियताको प्रहार हुन्छ? वास्तवमा राष्ट्रवाद भन्नुहोस्, देशभक्ति भन्नुहोस्, यो खेती गर्ने विषय होइन। हाम्रो रगतका अणु, अणुमा सञ्चारित हुने विशेष शक्ति हो। जुन शक्तिले हाम्रो देशलाई वीर बलभद्र जस्ता मान्छेहरु जन्माएको छ।’
उनले नेपालमा प्रजातन्त्रको लडाइँ नभएको भए, स्वतन्त्रताको इनक्लाव नउठेको भए नेपालको स्वतन्त्रता रहन्थ्यो कि रहन्थेन भन्ने कुरामै प्रश्न गर्नुपर्ने बताए। ‘म बहस गर्न तयार छु। अलोकतान्त्रिक शक्तिहरुले लोकतन्त्रवादीहरुलाई अराष्ट्रवादी भन्दै आएको कथा सुन्दा–सुन्दा मेरो कान टट्याइरहेको छ। नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डतालाई अक्षुण राख्नका लागि, नेपाली जनताको स्वाभिमानलाई उचो राख्नका लोकतन्त्रवादीको योगदानलाई नेपाल र नेपालीले सम्झनुपर्छ।’
यस्तै शान्ति प्रक्रियालाई परिणाममा पुर्याएर मुलुकमा सुशासन कायम गर्ने कामलाई अजेण्डाको रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ। उनले देशमा लोकतन्त्र आइसकेपछि गाउँ–गाउँमा विकास पुगेको भन्दै ति विकासका कामहरु केही पनि होइनन् भनेर नजरअन्दाज गर्नु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।