काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दाबी गरेका छन्।
अध्यक्ष नेपालले ८ दलको सहमतिमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्ने सबैले आशा गरेको पनि बताए। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने कुरामा कटिवद्ध हुनुपर्ने स्पष्ट पारे।
उनले जनताको चाहनालाई साकार पार्नेगरी अघि बढन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि अनुरोध गरेका छन्। मुलुक रुपान्तरणको यो महान अभियानमा गम्भिर भएर अघि बढन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले त्यसै अभियानलाई साथ दिन ८ राजनीतिक दलहरु एक ठाउँमा उभिने निष्कर्षमा पुगेको दाबी गरे।
संघीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु एक भएर बढ्न तयार भएको उनको भनाइ थियो। अध्यक्ष नेपालले भने, ‘उहाँलाई बधाई पछि दिउला। हामीले आज मात्रै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि प्रस्तावित गरेका छौं। अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।