काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने भनेर सहमति गरेका भनिएका आठमध्ये केही दल आफूहरुको सम्पर्कमा रहेको बताएका छन्।
एमाले उम्मेदवार सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि नयाँ बानेश्वरमा पत्रकारहरुसँग उनले भने- ‘हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरुलाई बोलाइएको थियो। उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ। कुराकानीमा भइरहेको छ।’
त्यहाँ जाने दलहरुले आफूहरुलाई बोलाइएकाले गएको र कांग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डले राखेको जानकारी पाएको उनले बताए। उनले आठ दलबीच गठबन्धन नभएको र निर्णय पनि केही नभएको बताए।
ओलीले शुक्रबार बालुवाटार जाने दलहरु सबैले रामचन्द्र पौडेललाई मत नदिने बताएका थिए। चिया खान गएकाहरुले मत नदिने उनको भनाइ थियो।
शुक्रबार बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको थियो। सोही अनुसार शनिबार बिहान कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार चयन गरेको छ।
ओलीले भने पुस १० मै आफूहरुले राष्ट्रपतिमा उम्मेदवार दिने टुंगो लागिसकेको बताए। ‘हामीले डिक्लोज नगरेको मात्रै हो। त्यसैले यसमा सहमत सबै पक्ष यसमा प्रतिबद्ध भएर आफ्नो प्रतिवद्धता पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। आफ्ना प्रतिवद्धता र वचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरु र कुराहरुबाट कोही पनि पछि हट्ने खालको काम हुनसक्दैन भन्ने हाम्रो धारणा छ’, उनले भने।
पुस १० मा सत्ता गठबन्धन निर्माण हुँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको बताइन्छ।
‘कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन जुन प्रतिवद्धता छ, जुन सहमति छ र सम्झौता हामीले गरेका छौँ हिजो। त्यसको सर्कल पूरा नभइकन यताउति केही हुन्छ भन्ने कुरा हल्ला हो भन्ने हामी ठान्छौँ’, ओलीले भने।
ओलीले प्रचण्डसँग केही नबिग्रिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।