तस्बिर : निमेषजंग राई/नेपाल लाइभ
काठमाडौं– नेकपा एमाले तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवासचन्द्र नेम्वाङले आफूले संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोले मतदाताले आफूलाई त्यसैको संरक्षकका रुपमा रहेको राष्ट्रपतिमा निर्वाचित गर्नेमा विश्वास व्यक्त गरेका छन्।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार मननोयन दर्ता गर्दै नेम्वाङले उक्त विश्वास व्यक्त गरेका हुन्।
‘हिजो संविधानसभा रहँदा ३१ वटा राजनीतिक दलको निर्विकल्प, सर्वसम्मत रुपमा संविधान सभा अध्यक्ष भएर मैले संविधान जारी गर्ने भूमिकाको नेतृत्व गरेँ। त्यही संविधानको संरक्षक हुने अवसर प्राप्त गरेको छु,’ नेम्वाङले भने,‘मलाई आशा छ मतदाताले मलाई मत दिनेछन् र त्यसलाई इमान्दारितापूर्वक पालना गर्नेछु।’
यस्तै, उनले आफू सबैको उम्मेदवार रहेको पनि दावी गरेका छन्। शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही अनुसार नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू उपस्थित थिए।
उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्।
यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।