काठमाडौं– नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनको बैठक बोलाइएको छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बोलाइएको छ। बैठकपछि आठ दलको साझा उम्मेदवारका रूपमा कांग्रेस नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता हुनेछ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेका थिए। सोही अनुसार शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ। दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।