काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको सम्वर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन्।
शनिबार बिहान कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको थियो।
बैठकपछि पार्टी कार्यालयमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले संविधानको संरक्षण, राष्ट्रियताको सम्वर्द्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताए। पौडेलले आफूप्रति नेपाली राजनीतिले नै सद्भाव र सहानुभूति राखेको पनि बताए।
‘नेपाली कांग्रेसले मात्रै होइन। सबै पार्टीले ममाथि सद्भाव राखेका छन्। र, नेपालको राजनीतिक जगतले मप्रति सद्भाव र अपार सहानुभूति राखेको मैले अनुभव गरेको छु’, उनले भने।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। त्यससँगै कांग्रेसले पौडेललाई उम्मेदवार चयन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।