काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको छ। शनिबार बिहान पार्टी कार्यालयमा बसेको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकले निर्वाचनमा पौडेललाई विजयी गराउन अन्य राजनीतिक दलहरुलाई आह्वान पनि गरेको छ। ‘नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजय गराउन यो बैठक सबै राजनीतिक दलहरु एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछ’, बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने।
पौडेललाई सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा प्रस्तुत गरिएको महतले बताए। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए। आफूलाई उम्मेदवार बनाएकोमा पौडेलले भने धन्यवाद दिएका थिए।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। त्यससँगै कांग्रेसले उम्मेदवार चयन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।