काठमाडौं- नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले नेपाल लाइभलाई जानकारी दिए।
महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए। त्यसपछि बैठकले उक्त नाममा समर्थन जनाउँदै निर्णय गरेको हो। यसअघि कृष्ण सिटौला पनि राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा थिए। तर, सभापति देउवाको चाहना अनुसार नै पौडेललाई उम्मेदवार बनाइएको हो।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेका थिए।
फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। दिउँसो १ बजे आठ दलका तर्फबाट उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।