काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार र राष्ट्रपति निर्वाचनबारे शनिबार निर्णय लिने भएको छ। जसका लागि केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले संयुक्त बैठक चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा के गर्ने, सरकारमा बस्ने कि नबस्नेबारे छलफल गर्न संयुक्त बैठक बोलाएका हुन्।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा कसैको पनि समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको थियो।
शुक्रबार नै बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरिसकेको छ। त्यसँगै सत्ता गठबन्धन फेरिने भएको छ।
एमालेले पनि सरकार र राष्ट्रपतिबारे शनिबार नै निर्णय गर्दैछ। शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दिने समय निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।