काठमाडौं- नेकपा एमालेले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएको छ। बैठकले सरकार र राष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय लिने बताइएको छ।
पुस १० गतेको सहमतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछि हटेको र राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने भएपछि एमालेका नेताहरुले असन्तुष्टि जनाएका छन्। त्यसैले शनिबारको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय लिने एक पदाधिकारीले बताए।
शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो। यो सहमतिसँगै पुस १० मा निर्माण भएको एमाले र माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन भत्किएको छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ। आजै उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।