काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।
कार्यतालिका अनुसार शनिबार नै दिउँसो ३ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित हुनेछ। आइतबार उम्मेदवारविरुद्ध उजुरी दिने, आइतबार र सोमबार मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने कार्यक्रम छ।
सोमबार उम्मेदवारको नामावली प्रकाशित गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित १६ गते गर्ने कार्यतालिका छ। राष्ट्रपतिका लागि यही फागुन २५गते मतदान हुनेछ।
आयोगले राष्ट्रपति निर्वाचनका लागि शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। आयोगले सार्वजनिक गरेको सूचीमा प्रदेश सभाका ५५० र संघीय संसद्का ३३२ सदस्यको नामावली उल्लेख छ।
प्रतिनिधि सभा सदस्य टेक बहादुर गुरुङ अहिले निलम्बित छन्। त्यस्तै, रवि लामिछाने निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त छ।
उम्मेदवारी दर्ता गर्ने दिन बिहानसम्म दलहरुले उम्मेदवार भने निश्चित गरसकेका छैनन्। यद्यपि, प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।
उम्मेदवार भने कांग्रेसले नै तय गर्ने छ।
कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चा गरिएका छन्। तर पौडेलको पक्षमा निर्णय गरिने नेताहरुको भनाइ छ।
शुक्रबारको बालुवाटारको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए।
नेकपा एमालेले पनि उम्मेदवार निश्चित गरिसकेको छैन। शनिबार बिहान बस्ने पार्टीको बैठकबाट उम्मेदवार चयन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।