फाइल तस्बिर।
काठमाडौं- नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरमाथि ९६ रनको शानदार जित निकालेको छ। पहिले ब्याटिङ गरेर नेपालले सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको थियो।
सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन मात्रै बनाउन सक्यो। सिंगापुरका आर्यन मोदीले सबैभन्दा बढी १ सय बलमा २ चौकासहित ५८ रन बनाए।
नेपालका स्पिनर सुवास भण्डारीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए। हेमन्त धामीले ८ ओभरमा २७ रन खर्चेर २ विकेट र विशाल विक्रम केसीले ५ ओभरमा १९ रन खर्चेर १ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो। नेपालका लागि आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रन बनाएका थिए।
विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रन अविजित बनाए। दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गरे। अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट भए भने कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट हुन पुगे।
डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रन, ओपनर दीपक बोहराले ५ रन, विकेटकिपर दीपक डुम्रेले १०, मिलन बोहराले ४, सुवास भण्डारीले अविजित १२ रन बनाए।
प्रतियोगितामा नेपालले अब हङकङ, मलेसिया, यूएई र कुवेतसँग खेल्नेछ। सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।