काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुन: सुनुवाइ हुने गरि आदेश दिएको छ।
आइतबार दुवै पक्षका तथा अन्य मुद्दाहरु समेत सँगै राखेर हेर्नेगरि सुनुवाइ हुने भएको सन्दीपका वकिल सरोज घिमिरेले बताए।
संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका थिए।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ।
नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।
अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।